बाराको परवानीपुर गाउँपालिका–४ मा सञ्चालनमा रहेका तर सूचीकृत तथा दर्ता नभएका उद्योगहरूमाथि गाउँपालिकाले अनुगमन गर्दै सात दिनभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको नेतृत्वमा गठन गरिएको संयुक्त अनुगमन टोलीमा गाउँपालिकाको अनुगमन समिति, गाउँ प्रहरी, इलाका प्रहरी बुनियाद, इलाका प्रहरी प्रसौनीका सुरक्षा अधिकारी तथा सञ्चारकर्मीहरूको सहभागिता थियो ।
अनुगमनको क्रममा ती उद्योगहरू कानुनी प्रक्रिया पुर्याई बिना नै सञ्चालन भइरहेको पाइएको गाउँपालिकाले जनाएको छ ।उद्योग सञ्चालकहरूसँग सात दिनभित्र अनिवार्य रूपमा उद्योग दर्ता गर्ने सहमति गराई, सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको र जानकारीसहित पत्र प्रदान गरिएको गाउँपालिका स्रोतले जनाएको छ ।
अनुगमनमा परेका उद्योगहरूः
- श्री हरि रिप्याकेजिङ प्रा.लि
- विना सति पेपर उद्योग
- प्रदिप पोलोथिन इन्डष्ट्रिज
- पशुपति कुट उद्योग
- तराई केमिकल इन्डष्ट्रिज
गाउँपालिका अध्यक्ष कुर्मीले स्थानीयस्तरमा उद्योग सञ्चालन गर्दा कानुनी प्रक्रिया पूरा नगर्नु नीतिविपरीत भएको स्पष्ट पार्दै, उद्योग दर्ता, नियमन र पारदर्शिता सुनिश्चित गर्न यस्ता अनुगमन आवश्यक रहेको बताए ।
अध्यक्ष कुर्मीले चेतावनी दिँदै भने, “निर्धारित सात दिनभित्र दर्ता प्रक्रिया पूरा नगर्ने उद्योगहरूलाई आवश्यक कानुनी कारवाहीको दायरामा ल्याइनेछ ।”
अनुगमनपछि गाउँपालिकाले उद्योग दर्ता र नियमन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै जाने प्रतिबद्धता जनाएको छ ।
भिडियाे सामाग्री