अमेरिकाको भर्जिनिया राज्यस्थित मनसास पार्क सहरको एक घरमा चार जना नेपाली नागरिक मृत फेला परेका छन् ।
मृतकहरूमा एक महिला, एक पुरुष र दुई जना बालबालिका रहेका छन् ।
घटनालाई प्रारम्भिक अनुसन्धानमा प्रहरीले हत्या पछि आत्महत्या हुनसक्ने आशंका गरेको छ । स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे मनसास पार्कस्थित घरमा प्रहरी पुग्दा उनीहरू सबै गोली लागेको अवस्थामा मृत फेला परेको स्थानीय सञ्चारमाध्यम एनबिसी वाशिङ्टन डटकमले जनाएको छ । मृतक वयस्कको परिचय खुलेको छ । उनीहरू सन्तोष परियार र अन्जु श्रेष्ठ भएको पुष्टि भएको छ । तर, मृतक दुई बालबालिकाको नाम भने सार्वजनिक गरिएको छैन । तीमध्ये एक ८ वर्षीया बालिका र एक २ वर्षीय बालक रहेका छन् ।
घटनास्थलको विवरण अनुसार, उनीहरू मनसास पार्कस्थित एक घरको भुइँतलामा बसोबास गर्दै आएका थिए । घरबेटीलाई शंका लागेपछि उनले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले घरको ढोका खोलेर चार जनाको शव फेला पारेको हो । प्रहरीका अनुसार, घटनास्थलमा कुनै बाहिरी व्यक्तिको जबर्जस्ती प्रवेशको संकेत नभएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । त्यसैले प्रहरीले यसलाई हत्या गरेपछि आत्महत्या भएको हुनसक्ने अनुमान गरेको हो ।
घटनास्थल सुरक्षित राखेर प्रहरीले थप अनुसन्धान अगाडि बढाइरहेको छ । सो घर वरपर बसोबास गर्ने नेपालीहरूलाई समेत सोधपुछ गरिएको जानकारी दिइएको छ ।
यस दर्दनाक घटनाले स्थानीय नेपाली समुदायमा स्तब्धता र शोक फैलिएको छ । अमेरिकास्थित नेपाली दूतावास वा परिवारजनको तर्फबाट भने अझै औपचारिक प्रतिक्रिया आएको छैन ।