पर्सा जिल्लामा विपद् व्यवस्थापन सम्बन्धी जल उद्धार संयुक्त अभ्यास 'अभ्यास मनसुन–५' को प्रदर्शनी सम्पन्न भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा तथा सुरक्षा निकाय र सरोकारवाला निकायहरूको सहकार्यमा यो अभ्यास सम्पन्न गरिएको हो ।चारदिने कार्यक्रम अन्तर्गत अन्तिम दिन आइतबार वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा पोखरीमा जल उद्धार कार्यको प्रत्यक्ष प्रदर्शनी गरिएको थियो । कार्यक्रममा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
सुरक्षाकर्मी र समुदायको सहकार्य
‘अभ्यास मनसुन–५’ मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, रेडक्रस, स्काउट लगायतका निकायहरूको सक्रिय सहभागिता रहेको थियो । अभ्यासको उद्देश्य मनसुनको समयमा सम्भावित बाढी तथा डुबानजन्य विपद्का बेला जल उद्धार कार्यलाई थप प्रभावकारी बनाउनु र सम्बन्धित निकायहरूबीच समन्वय सुदृढ गर्नु रहेको आयोजकहरूले जनाएका छन् ।
व्यापक सहभागी
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालय प्रमुख, संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, शिक्षक, विद्यार्थी लगायत करिब ६०० जनाको उपस्थिति रहेको थियो ।
उक्त अभ्यासमार्फत आपत्कालीन तयारी तथा जनचेतनालाई समेत बलियो बनाउने अपेक्षा गरिएको छ ।