संविधान अनुसार देशका सातवटै प्रदेश सरकारले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्न लागेका छन् । असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार आज सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले आ–आफ्नो प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन् ।
संघीय सरकारले जेठ १५ गते बजेट प्रस्तुत गरेजस्तै, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
हालसम्म प्राप्त प्रारम्भिक जानकारी अनुसार सातवटै प्रदेश सरकारले चालू आर्थिक वर्षको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोड रूपैयाँकै हाराहारीमा आगामी वर्षको बजेट ल्याउने तयारी गरेका छन् ।
कोसी प्रदेश:
कोसी सरकारले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखी बजेट ल्याउने तयारी गरेको छ। चालू आर्थिक वर्षमा ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएको कोसीले आगामी वर्षमा ३५ देखि ४० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ ।
मधेस प्रदेश:
मधेस सरकारले चालू आवको तुलनामा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। गत आवमा ४३ अर्ब ८९ करोड २१ लाखको बजेट ल्याएको मधेस प्रदेशले यसपालि त्यसभन्दा बढी बजेट प्रस्तुत गर्ने तयारी गरेको हो।
बागमती प्रदेश:
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आवको तुलनामा करिब पाँच प्रतिशतले बढाउने तयारी गरेको छ। चालू आवमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको थियो। अर्थमन्त्री कुन्दन काफ्लेले आज दिउँसो ३ बजे हेटौंडास्थित प्रदेशसभामा बजेट प्रस्तुत गर्दै छन्।
गण्डकी प्रदेश:
गण्डकी प्रदेशले चालू आवको तुलनामा करिब एक अर्ब घटाएर बजेट ल्याउने तयारी गरेको छ। आर्थिक मामिला मन्त्री टंकराज गुरुङले दिउँसो ४ बजे बजेट प्रस्तुत गर्दै छन्।
लुम्बिनी प्रदेश:
लुम्बिनीले चालू आवमा ल्याएको ३८ अर्ब ९७ करोडको बजेट भन्दा कम बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। बजेट दिउँसो ३ बजे आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रस्तुत गर्नेछन्।
कर्णाली प्रदेश:
कर्णाली सरकारले ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट ल्याएको थियो। यस वर्ष पनि त्यसैको हाराहारीमा बजेट ल्याइने भएको छ।
सुदूरपश्चिम प्रदेश:
सुदूरपश्चिम सरकारले गत वर्ष ३१ अर्ब ५३ करोड ६६ लाखको बजेट प्रस्तुत गरेको थियो। यसपालि पनि सोही आसपासको बजेट रहने अनुमान छ। बजेट आज प्रदेशसभा बैठकमार्फत सार्वजनिक गरिनेछ।