बाराको पचरौता नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, कृषि र सूचना प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
नगर प्रमुख जलन्धर सिंह जैसवारले सोमबार नगरपालिकाको १४औं नगरसभाबाट ६५ करोड ३१ लाख ६६ हजार ९ सय रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
राजस्व स्रोत र अनुदान विवरण:
बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपुरक तथा विशेष अनुदान शीर्षकमा ३७ करोडभन्दा बढी प्राप्त हुने अनुमान गरिएको छ ।
- संघीय समानीकरण अनुदान : १० करोड ९६ लाख
- समपुरक अनुदान : २५ करोड ८ लाख
- विशेष अनुदान : १ करोड
- राजस्व बाँडफाँड : ९ करोड ८० लाख ६६ हजार ९५२
प्रदेश सरकारबाट :
- समानीकरण अनुदान : ९० लाख
- सशर्त अनुदान : ९५ लाख
- समपुरक अनुदान : २० लाख
- विशेष अनुदान : ३० लाख
नगरपालिकाले आन्तरिक स्रोतबाट १० करोड ६० लाख र संचित श्रोतबाट ५ करोड बराबरको रकम जुटाउने अनुमान गरिएको छ।
मुख्य कार्यक्रम र प्राथमिकता क्षेत्रहरू:
नगरले आगामी वर्षमा सञ्चालन गर्ने केही प्रमुख कार्यक्रमहरू यस प्रकार छन् :
- दृष्टिविहीन वृद्धवृद्धालाई निःशुल्क मोतियाविन्दु शल्यक्रिया
- रक्तदान कार्यक्रम र स्थानीयलाई निःशुल्क रगत सेवा
- १५ शैयाको नगर अस्पताल सञ्चालन
- निःशुल्क एम्बुलेन्स सेवा निरन्तरता
- एमबीबीएस, पीएचडी, इन्जिनियरिङ, एनीमल साइन्स लगायतका छात्रवृत्तिहरू
- ९९ बेडको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि संघसँग समन्वय
- प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने
- बेनौली बजारमा सुविधा सम्पन्न भवनसहितको बजार विकास
- कृषि विद्युतीकरण र निःशुल्क कृषि मिटर सुविधा
- बोरिङ, ट्यांकी, पानी आपूर्ति योजना
- गाई वितरण, कोल्ड स्टोर, माछा प्रयोगशाला, स्थानीय उत्पादन प्रवर्द्धन
- बेनौली पोखरीलाई धार्मिक–पर्यटन गन्तव्यको रूपमा विकास
- विपद् व्यवस्थापन कोष स्थापना
- स्टेडियम निर्माण र नगरस्तरीय खेलकुद प्रतियोगिता
शिक्षा क्षेत्रमा:
- चार विद्यालयलाई मोंटेसरी मोडेलमा रुपान्तरण
- कक्षा ११ देखि स्नातकोत्तर तहसम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
- शिक्षकको बीमा
- विद्यालयहरूमा सुरक्षित पूर्वाधार निर्माण
पूर्वाधार विकासमा:
- सडक, नाला, पुल, विद्युत, सोलार जडान लगायतका पूर्वाधारमा विशेष जोड
नगर प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी प्रक्रिया अपनाइएको जानकारी दिइन् । नगरप्रमुख जैसवारले बजेट निर्माणमा कार्यपालिका, वडास्तर र स्थानीय सरोकारवालाबाट सुझाव संकलन गरि प्रक्रिया अपनाइएको उल्लेख गरे ।
त्यस्तै, वडा नं. १ सँग जोडिएको छोटी भन्सार सञ्चालनका लागि आवश्यक सडक विस्तार गरिने र जनताको स्वास्थ्य बिमा शुल्कमध्ये ५० प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने घोषणा पनि नगरप्रमुखले गरे । नगर प्रमुख सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपप्रमुख नसिमा खातुन, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू लगायतको उपस्थिति थियो ।
कार्यक्रमको स्वागत वडा नं. ६ का अध्यक्ष मकबुल अन्सारीले गरेका थिए भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बसन्त राज जोशीले गरेका थिए ।
भिडियाे सामाग्री