वीरगंज महानगरपालिकासहित पर्सा जिल्लाका अधिकांश पालिकाहरूमा यस वर्ष पनि खानेपानीको समस्या तीव्र बन्दै गएको छ ।
खानेपानी मन्त्री प्रदिप यादवकाे जिल्ला भएपनी यहाँका जनता पानीबाट राहत पाउन सकेकाे छैन् । भूमिगत जलको सतह घट्दै गएपछि यहाँका चापाकलहरू सुक्न थालेका छन् । अहिले अधिकांश परिवारहरू पानीको चरम अभावमा छन् । गत दुई वर्षदेखि चापाकल सुक्ने समस्या गम्भीर बन्दै गएको हो ।
पहिले सार्वजनिक स्थानहरूमा मात्र समस्या देखिएको भए पनि अहिले घरायसी प्रयोजनका चापाकलहरूमा समेत पानी आउन छाडेको छ । वीरगंज महानगरको खानेपानी महाशाखाका प्रमुख राकेश साहका अनुसार हाल महानगरका करिब ९० प्रतिशत घरमा चापाकल जडान छन्, तर तीमध्ये ८० प्रतिशत चापाकलमा अहिले पानी आउन छाडेको छ ।
डीप बोरिङबाट पनि राहत मिलेन
खानेपानी संकट न्यूनीकरणका लागि महानगरले करिब डेढ सयवटा डीप बोरिङ जडान गरेको थियो । तर तीमध्ये ४० वटामा अझै पनि पाइपलाइन जडान हुन बाँकी छ ।
एउटा डीप बोरिङबाट अधिकतम ४० घरमा मात्र पानी पुर्याउन सकिने हुँदा यो समाधान पर्याप्त देखिएको छैन । अहिले अधिकांश मानिसहरू खानेपानी संस्थानको पाइपलाइन जडान गर्न बाध्य छन् । वीरगंजमा खानेपानी संस्थानका ग्राहक संख्या १० हजार पुगेकोमा गत वर्षदेखि तीव्र रूपमा वृद्धि भएको छ । संस्थानले बिहान, दिउँसो र साँझ गरी ११ घण्टासम्म पानी वितरण गरिरहेको भए पनि ग्राहक संख्यामा भएको बृद्धिका कारण आपूर्ति प्रभावकारी हुन सकेको छैन ।
पाइपबाट मोटर जडानले झनै समस्या
खानेपानी संस्थानको पाइपलाइनबाट सीधा मोटर जडान गरेर पानी तान्ने प्रवृत्तिले अन्य ग्राहकलाई समेत पानीको अभाव झेल्न बाध्य बनाएको छ । यसरी अनधिकृत रूपमा मोटर जडान गरिँदा संस्थानको प्रणाली मै दबाव परेको र पानीको गति कम भएको उपभोक्ताहरूको गुनासो छ ।
- वीरगंजमा करिब ८० प्रतिशत चापाकलहरू सुकेका छन्, जसले घर–घरमा पानीको हाहाकार सिर्जना गरेको छ ।
- महानगरले १५० भन्दा बढी डीप बोरिङ जडान गरे पनि धेरैमा अझै पाइपलाइन जडान भएको छैन ।
- सरकारले १ अर्बको योजना पठाए पनि केवल १४ करोड मात्र बजेट आएको छ ।
- एडिबीको सहयोगमा वीरगंजका सबै वडामा पाइप विस्तार, टंकी निर्माण र मर्मतको योजना तयार भएपनी योजना सम्पन्न हुन कम्तीमा तीन वर्ष लाग्छ ।
- अधिकांश पालिकामा करोडौंको लागतमा खानेपानी टंकी निर्माण भए पनि हालसम्म सञ्चालनमा आएका छैनन् ।
- टंकी निर्माणमा कमिशनमुखी प्रवृत्तिका कारण सेवा प्रवाह हुन सकेको छैन ।
बजेट अपुग, योजना अधुरो
खानेपानी समस्याको समाधानका लागि गत वर्ष एक अर्ब रुपैयाँको प्रस्ताव पठाइएको भए पनि केवल १४ करोड रुपैयाँ मात्र प्राप्त भएको खानेपानी संस्थानले जनाएको छ । यो बजेटले १४ वटा पालिकालाई समेट्न नसक्ने स्पष्ट छ । योजनाअनुसार १३२ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गर्ने भनिएकोमा हालसम्म २० किलोमिटर मात्र विस्तार भएको छ ।
अबको आशा एडिबीको परियोजनाबाट
खानेपानी मन्त्रालयले एशियाली विकास बैंक (ADB) को सहयोगमा वीरगंजका ३२ वटै वडामा पाइपलाइन विस्तार, टंकी निर्माण र मर्मत कार्यको योजना अघि सारेको छ । आगामी साउन महिनामा ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको खानेपानी महाशाखा प्रमुख साहले जनाए। योजना पूरा हुन तीन वर्ष लाग्ने अनुमान छ ।
जिल्लाभरि समस्या विकराल
वीरगंज मात्र होइन, पर्सा जिल्लाका पोखरिया, बहुदरमाई, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, कालिकामाई, विन्ध्यवासिनीलगायतका पालिकामा पनि चापाकलहरू सुक्न थालेका छन् । यी पालिकाहरूमा करोडौं खर्चेर खानेपानी टंकी त निर्माण गरिएको छ, तर पाइपलाइन विस्तार नभएको कारण ती अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।

सबै पालिकामा टंकी छ, अधिकांशमा पानी छैन
सबैभन्दा पहिले पोखरियामा दुई दशक अघि टंकी निर्माण भएको थियो । त्यसपछि पाइपलाइन विस्तार गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । यस्तै अवस्था पर्सागढी, सखुवाप्रसौनीलगायत अन्य पालिकामा पनि देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले खानेपानी मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानमा खासै पहल भएको छैन ।
जङ्गल क्षेत्र थप जोखिममा
पर्सा जिल्लाको जङ्गल क्षेत्रका बासिन्दाहरू आर्टिजेन धारामार्फत पानी प्राप्त गर्थे । तर अहिले ती धाराहरू पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ । चापाकल जडान गरेर पानीको जोहो गरिँदै आएको भएपनि त्यहाँ पनि अब पानी आउन छाडेको स्थानीयले गुनासो गरेका छन् ।
सदरमुकाम वीरगंज मात्र नभइ पर्सा जिल्लाभरि चापाकल सुक्दै जाँदा खानेपानीको चरम संकट उत्पन्न भएको छ । हालैका राहत प्रयासहरू अपुग साबित भएका छन् । दीर्घकालीन समाधानका लागि तत्काल बजेट पाइपलाइन विस्तार, टंकी सञ्चालन आवश्यक देखिन्छ । अन्यथा, पर्साका हजारौं नागरिक आगामी तीन वर्षसम्म पनि पानीको अभावमा पिल्सिन बाध्य हुनेछन् ।
सम्बन्धित समाचार
पानी बिनाको खानेपानी ट्याङ्की उद्घाटन, उद्घाटनमा व्यस्त खानेपानी मन्त्री, पानी बिना काकाकुल स्थानीय (भिडियाे सहित)
खानेपानी मन्त्रालयमा एजाजबाबु मार्फत योजना, मन्त्रीलाई करोडौँ कमिसन चेपुवामा हाकिम (भिडियाे रिपाेर्ट)
भिडियाे सामाग्री