बाराको प्रसौनी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४० करोड १ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औं गाउँ सभामा गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले उपाध्यक्ष किरण देवीको तर्फबाट नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका हुन् । बजेट स्रोतका विवरणअनुसार, नेपाल सरकारबाट प्राप्त समानिकरण अनुदान ९ करोड ८६ लाख, सशर्त अनुदान १५ करोड ६४ लाख, विशेष अनुदान ७९ लाख, राजस्व बाँडफाँड सात करोड ९१ लाख १५ हजार ७२३ रुपैयाँ रहेको छ । त्यस्तै, प्रदेश सरकारबाट समानिकरण अनुदान ५९ लाख ९३ हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक अनुदान २० लाख र राजस्व बाँडफाँड ५० लाख ३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरी, अघिल्लो मौज्दात रकम २ करोड ८० लाख ८८ हजार २७७ र आन्तरिक राजस्व १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।
गाउँसभामा अध्यक्ष जैसवालले सात वटै वडामा समावेशी र सन्तुलित विकासलाई प्राथमिकता दिइएको जानकारी दिए । उनले सामाजिक सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा बजेट केन्द्रित रहेको बताए ।
नीति तथा कार्यक्रममा वडा नं. ३ को पोखरी सौन्दर्यकरण, आन्तरिक सडक स्तरोन्नति, कृषि यान्त्रीकरण, युवा उद्यमशीलता प्रवर्द्धन तथा सिपमूलक तालिम, विपन्न परिवारका एक–एक जना डाक्टर र इञ्जिनियर उत्पादनका लागि छात्रवृत्ति, सामुदायिक विद्यालयबाट उच्च शिक्षा उत्तीर्ण गर्ने एक–एक जना छात्र–छात्रालाई ल्यापटप वितरण, अभिभावक शिक्षाको कार्यान्वयन, स्नातक तह अध्यापन सञ्चालन, बालविकास केन्द्रमा एलईडी जडान, साक्षर पालिका घोषणा लगायतका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै, बेंगासाह माध्यमिक विद्यालयमा शिशु स्याहार केन्द्र स्थापना, सामूहिक विवाह कार्यक्रम प्रवर्द्धन, ३५१ घरपरिवारलाई ५० प्रतिशत अनुदानमा खाद्यान्न प्रणाली लागू गर्ने, १० शैयाको अस्पताल निर्माण, १० हजार लिटर खपत गर्ने उपभोक्तालाई निःशुल्क खानेपानी, बहुउद्देश्यीय भवनको निर्माण तथा सञ्चालन, डिजिटल सेवा प्रवाह, महिला सशक्तिकरण, दिगो विकास र समावेशी योजनाहरू समेत बजेटमा उल्लेख छन् ।
गाउँसभामा उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकिकृत श्याम किशोर प्रसाद, लेखापाल प्रेम बाबु पटेल, स्वास्थ्य शाखा प्रमुख सुरेश साह, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीयवासी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।