सर्लाही प्रहरीले करिब साढे ४२ लाख रुपैयाँ बराबरको भन्सार छली गरिएका विभिन्न सामानहरू बोकेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
प्रहरीले वीरगंजबाट इटहरीतर्फ जाँदै गरेको उक्त ट्रक बुधबार बिहान विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय करमैयाबाट खटिएको टोलीले बा ५ ख ३०७ नम्बरको ट्रक चेकजाँच गर्दा सो परिमाणको अवैध सामान फेला पारेको सर्लाही प्रहरीका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए । उनका अनुसार, ट्रकमा लोड गरिएका सामानहरूबारे प्रमाणित कागजात नभेटिएको र चालकले प्रस्तुत गरेका कागजातहरू शंकास्पद पाइएकाले ट्रक नियन्त्रणमा लिइएको हो ।
प्रहरी अनुसन्धान अनुसार ट्रकमा टायर, मोबिल, आँपमा छर्ने औषधी, इलेक्ट्रोनिक सामान, रेगुलेटर, मोटरपार्ट्स, किसमिस, छाता, कस्मेटिक्स लगायतका विविध सामग्री अवैध रूपमा लोड गरिएको फेला परेको हो । प्रहरीले भन्सार छली तथा राजस्व चुहावट भएको आशंकामा ट्रकलाई पथलैया राजश्व अनुसन्धान कार्यालयमा पठाएको जनाएको छ ।
सर्लाही प्रहरीले पछिल्लो समय राजस्व चुहावट र भन्सार छली नियन्त्रणमा निगरानी कडा पारेको पनि बताएको छ ।
भिडियाे सामाग्री