पर्सा जिल्लाको पोखरिया अस्पतालमा कार्यरत केही चिकित्सकमाथि निजी बिचौलियामार्फत बिरामीसँग अनावश्यक रूपमा पैसा असुली गर्ने गम्भीर आरोप लागेको छ ।
स्थानीयवासीका अनुसार, अस्पतालका केहि डाक्टरहरूले आफ्ना चिनेजानेका बिचौलिया मार्फत बिरामीहरूलाई औषधि तथा अन्य सामग्री बाहिरबाट किन्ने वातावरण बनाउने गरेका छन् । सामान्य स्वास्थ्य सेवा लिन आउने बिरामीहरू समेत अस्पतालबाट निराश भएर फर्कन बाध्य भएकाे उनिहरूकाे आरोप छ । स्थानीय रामेश्वर साहका अनुसार “अस्पतालमा जीवनजलजस्तो सामान्य औषधि पनि पाइँदैन । बाहिरबाट खरिद गर्नुपर्छ ।”
यस्तै, पोखरिया कै अर्का सेवाग्राहीसंगै आएका रीता देवीका अनुसार “हामी गरिब जनताका लागि बनेको अस्पतालमा समेत राम्रो उपचार हुँदैन । डाक्टरहरूले भनेपछि बाहिरबाट औषधि किन्नुपर्छ ।” डाक्टरहरूले आफ्ना बिचौलियामार्फत बिरामीलाई निजी क्लिनिक वा औषधि पसलमा पठाउने, त्यहाँबाट कमिसन लिने जस्ता क्रियाकलाप हुने गरेकाे उनिहरूकाे आरोप छ ।
यस्ता घटनाले पोखरिया अस्पताल प्रतिको जनविश्वास खस्किँदै गएको छ ।