ललितपुरस्थित मितेरी मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौं रकम अपचलन प्रकरणमा संलग्न प्रमुख आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाबाट आजै काठमाडौं ल्याइने भएको छ ।
प्रहरी स्रोतका अनुसार भण्डारीलाई सिंगापुर एअरलाइन्सको विमानमार्फत कम्बोडियाबाट सिंगापुर हुँदै नेपाल ल्याइँदै छ। विमान आज राति ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
मितेरी सहकारीमा केही वर्षअघि तत्कालीन कांग्रेस उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङकी पत्नी ज्योति गुरुङ महाप्रबन्धक थिइन्। त्यही कार्यकालमा सहकारीको करोडौं बचत रकम अपचलन गरी उनी फरार भएकी थिइन् । उनीसँगै संलग्न भण्डारी पनि भागेपछि प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय अपराध अनुसन्धान संस्था इन्टरपोलले दुवैजनालाई ‘रेड नोटिस’ जारी गरी खोजी कार्य अघि बढाएको थियो ।
उनीहरू फरार भएपछि मात्र मितेरी सहकारीमा ठगी भएको विषय सार्वजनिक भएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा भण्डारीले थाइल्यान्ड, कम्बोडिया हुँदै श्रीलंकाको कोलम्बोसम्म पुगेको अनुमान गरिएको थियो। पछिल्लो सूचना अनुसार उनलाई कम्बोडियामै पत्ता लगाई इन्टरपोलको सहायतामा नियन्त्रणमा लिइएको हो ।
उनीलाई नेपाल ल्याउनका लागि एसपीको नेतृत्वमा नेपाल प्रहरीको विशेष टोली कम्बोडिया पुगेको थियो ।
उल्लेखनीय छ, मितेरी सहकारी बेलायती र भारतीय सेनाबाट अवकाशप्राप्त लाहुरेहरूको पहलमा स्थापना गरिएको संस्था हो। बर्दिया घर भएका ज्योतिबहादुर भण्डारीले समेत सहकारीको ठगी योजनामा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
सरकारी निकायले घटनालाई उच्च प्राथमिकतामा राख्दै अन्य दोषीहरूलाई समेत कारबाहीको दायरामा ल्याउने तयारी गरेको छ ।