बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ मा रहेको अशोक स्टील उद्योगमा ग्याँस पाइप फुत्किँदा एक जना मजदुर घाइते भएका छन् ।
शुक्रबार काम गर्ने क्रममा स्थानीय २० वर्षीय अनिल पासवान ग्याँसको झिल्काबाट जलेर घाइते भएका हुन्। अनुहारसहित शरीरको करिब १० प्रतिशत भाग जलेका पासवानलाई उपचारका लागि सिमरास्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेद जोशीका अनुसार पासवानको अवस्था अहिले सामान्य रहेको छ ।
घाइतेको परिवारका अनुसार शरीरको सतही भाग मात्रै जलेको र उपचार सुचारु रहेको जानकारी दिइएको छ ।
घटनापछि वडा नं. ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका थिए। उनले पासवानको अवस्था गम्भीर नरहेको र आवश्यक सहयोगको पहल भइरहेको बताएका छन् ।