रामेछापको मन्थली नगरपालिका–६ कुनाउरी र वडा नम्बर ७ भटौलीलाई जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुल पुनः भाँचिएको छ ।
आइतबार बिहान पुलको भटौलीतर्फको स्ल्याब भाँचिएर तल खसेको हो । स्थानीयका अनुसार यसअघि पनि वैशाख २६ गते सोही स्थानमा पुल भाँचिएको थियो। उक्त पुलको निर्माण जिम्मा लिएको कालिका/कल्पवृक्ष जेभीले पुनःनिर्माण गरिरहेको अवस्थामा पुनः त्यही भाग फेरि भाँचिएको हो। मन्थली–७ का स्थानीय सुरज श्रेष्ठका अनुसार एक महिनाअघि भाँचिएको भाग अझै निर्माणको क्रममा रहँदै पुनः भाँचिएको हो ।
सडक विभागअन्तर्गतको पुल महाशाखासँग २०७८/७९ मा उक्त पुल निर्माणको लागि सम्झौता भएको थियो । निर्माण कम्पनीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा पुल निर्माणको ठेक्का लिएको हो । सम्झौताअनुसार २०८२ सालको भदौ मसान्तसम्म पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । हालसम्म निर्माण कम्पनीले कुल भुक्तानीको ६० प्रतिशत लिइसकेको छ । यद्यपि, एकै स्थानमा दोस्रोपटक पुल भाँचिएपछि स्थानीय बासिन्दाले निर्माणको गुणस्तरप्रति गम्भीर प्रश्न उठाएका छन् ।
२३० मिटर लम्बाइ र ११ मिटर चौडाइको सो पुल निर्माणपछि मन्थली–भटौलीसहित खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाबीच यातायात सहज हुने अपेक्षा गरिएको छ । यस्तै, सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने छोटो दूरी समेत यही पुलले सहज बनाउनेछ ।
तर, निर्माणको क्रममा बारम्बार आएको समस्या तथा दोहोरिएको भाँचाइले परियोजनाको म्याद, लागत र सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ ।