पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३४ करोड १० लाख ४९ हजार ५२८ रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १५औं गाउँसभा बिहीबार सेढवास्थित गाउँ कार्यपालिकाको सभाकक्षमा सम्पन्न भएको हो । गाउँसभामा उपाध्यक्ष रेखा चौधरीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गर्दै समावेशी विकास, नागरिकमुखी सेवा र दिगो पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जानकारी दिइन् ।
शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा
उपाध्यक्ष चौधरीले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सामाजिक सुरक्षालाई सन्तुलित रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गाउँपालिकाले स्थानीय आवश्यकताका आधारमा योजना छनोट गर्दै बजेट विनियोजन गरेको उनले स्पष्ट पारिन् ।
सबैको सहकार्यमा समग्र विकास
गाउँपालिका अध्यक्ष अनोज चौधरीले समग्र विकासमा सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको बताए ।
उनले भनिन्, “जनताको आवश्यकता बुझेर योजनाहरू कार्यान्वयन गरिन्छ, सबै पक्षको साथ लिएर अगाडि बढ्नेछौं ।”
अनुदान कटौती, स्थानीय स्रोतमा भर
प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान अघिल्ला वर्षहरूको तुलनामा घटेको जानकारी दिँदै स्थानीय स्रोतसाधन परिचालनमा जनसहभागिता अपरिहार्य रहेको बताए । उनले स्थानीय तह जनताको प्रत्यक्ष सरोकारको निकाय भएकाले सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता अझ बढाउनुपर्ने धारणा राखे ।
गाउँसभा अध्यक्ष अनोज चौधरीको अध्यक्षतामा सम्पन्न गाउँसभामा पाँचै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, महिला सदस्य, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, कर्मचारी र स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो । जिराभवानी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा स्थानीय आवश्यकता, समावेशीता र दिगो विकासलाई समेट्ने प्रयास देखिएको छ ।
स्रोत सीमित भइरहँदा पनि जनसहभागितामूलक विकास योजना कार्यान्वयन गर्नु स्थानीय तहको सफलता र विश्वसनीयताको परीक्षाको विषय बन्नेछ ।