बाराको बिश्रामपुर गाउँपालिकाले १७औं गाउँसभा मार्फत आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । शनिबार सम्पन्न गाउँसभामा कुल रु. ३२ करोड १० लाख ४९ हजार ५२८ को बजेट प्रस्तुत गरिएको हो ।
सभाको अध्यक्षता गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुट्टोले गरेका थिए । उपाध्यक्ष प्रियन्का देवी साहले वडा नं. २ का अध्यक्ष मनोज कुमार यादवलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न आग्रह गरेकी थिइन्। त्यसपछि वडा अध्यक्ष यादवले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बजेटमा समावेशी, दिगो विकास र नागरिकमुखी सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सामाजिक सुरक्षा, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिक क्षेत्रमा राखिएको छ ।
गाउँसभामा वडाका अध्यक्षहरू, गाउँसभा सदस्य कृष्ण प्रसाद साह, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले गरेका थिए भने सञ्चालन स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले गरेका थिए ।