बाराको सिम्रौनगढ नगरपालिका–७ स्थित खजनी टोलदेखि बरहम बाबा मन्दिरसम्म निर्माणाधीन सडकमा गुणस्तरहिन सामग्री प्रयोग गरिएको खुलेको छ । ४५ लाख रुपैयाँ लागतको यो योजनामा कवाडबाट संकलित रड प्रयोग गरिएको स्थानीय अनुगमनमा खुलेको हो ।
उक्त योजना उपभोक्ता समितिको जिम्मामा रहेको भए पनि सब-इन्जिनियर प्रभात सिंह मातहतका योजनामा पटक–पटक गम्भीर लापरवाही हुने गरेको स्थानीयबासी तथा पत्रकारहरूको गुनासो छ । योजनाको स्थलगत अनुगमनमा खटिएका पत्रकारहरूका अनुसार रड नै कवाडस्तरको पाइएको छ भने बिम राख्ने काममा आवश्यक मापदण्ड समेत पूरा गरिएको छैन ।
इन्जिनियरको निर्देशनको अवज्ञा, हाकिमको बेवास्ता
सडक ढलानको काम अघि बढ्दा प्राविधिक संलग्नता देखिएको छैन । इन्जिनियर प्रभात सिंहले “काम रोक्न निर्देशन दिएको” बताए पनि त्यस्तो निर्देशनको कुनै कार्यान्वयन भएको देखिदैन । अर्कोतर्फ, पूर्वाधार विकास कार्यालयकी प्रमुख रिम्पु यादव समेत सिंहका कामप्रति न त निगरानी राख्छिन्, न हस्तक्षेप गर्छिन् ।
स्थानीयवासीहरूको भनाइअनुसार, प्रभात सिंह आफैलाई ‘डन’ ठान्ने, योजनास्थल नजाने, र कार्यालयमै ‘ब्रसच्व देखाएर’ बस्ने गरेका छन् । उनले प्रमुख यादवलाई आर्थिक प्रलोभनमा पारी योजना मनपरी ढंगले सञ्चालन गर्ने आरोप पनि गम्भीर रूपमा उठेको छ ।
कमिसनको सञ्जाल, गुणस्तरको बलि
एक उपभोक्ता समितिका सदस्यका अनुसार प्रदेशदेखि जिल्ला कार्यालयसम्म ‘कमिसन बुझाउनुपर्ने’ बाध्यता छ । उनका अनुसार, “गुणस्तरीय काम गरे एक रुपैयाँ पनि बच्दैन, त्यसैले कमसल सामग्री प्रयोग गर्न बाध्य भएका हौं ।”
जनताको करबाट संकलित पैसाले निर्माण गरिएको योजना भए पनि उपभोक्तालाई चित्त बुझ्ने संरचना निर्माण हुन सकेको छैन। योजनाको प्रगति प्रतिवेदन बुझाएर भुक्तानी थाप्ने प्रवृत्तिले मधेश प्रदेशमा सरकारी योजना नै बदनाम बनाइरहेको छ ।
इन्जिनियर प्रभात सिंहले भने, “मेरो मातहतको कुनै योजनामा गुणस्तरहिन काम भएको छैन,” भन्ने दाबी गरे पनि आईतबारकै स्थलगत अनुगमनमा ठीक विपरीत दृश्य देखिएको छ। रड मापदण्ड अनुसारको थिएन, सडकको मोटाई र समतलतासमेत अव्यवस्थित अवस्थामा देखिएको थियो ।
प्रमुख यादवसँग प्रतिक्रिया लिँदा उनले ‘घाँटी दुखेको’ बहाना दिँदै बोल्न अस्वीकार गरिन् ।
सिम्रौनगढको यो योजना मात्र एउटा प्रतिनिधि उदाहरण हो । मधेश प्रदेशभरि कैयौं योजनामा यस्तै नियोजित लापरवाही, अनुगमनको अभाव, कमिसनको खेल र जनउत्तरदायित्वको गिरावट देखिएको छ ।