पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ४५ करोड ४१ लाख १७ हजार ११ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
सोमबार जगरनाथपुर–४ सन्ठीस्थित विद्यालय प्रांगणमा आयोजित १३औं गाउँसभा अधिवेशनमा गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आगामी वर्षको नीति, कार्यक्रम तथा आय–व्यय विवरण प्रस्तुत गरेका हुन् ।
बजेटका प्रमुख श्रोतहरू
अध्यक्ष यादवका अनुसार बजेट विभिन्न अनुदान र राजस्व स्रोतहरूबाट संकलन गरिनेछ ।

मुख्य श्रोत विवरण यसप्रकार छ :
- संघीय समानीकरण अनुदान – रु. १० करोड ५६ लाख
- संघीय सशर्त अनुदान – रु. १८ करोड ३ लाख
- संघीय विशेष अनुदान – रु. २ करोड ८९ लाख
- संघीय राजस्व बाँडफाँड – रु. ८ करोड ८२ लाख २८ हजार
- प्रदेश समानीकरण अनुदान – रु. ७३ लाख ४१ हजार
- प्रदेश सशर्त अनुदान – रु. ८० लाख
- प्रदेश विशेष अनुदान – रु. ३० लाख
- प्रदेश समपूरक अनुदान – रु. २० लाख
- प्रदेश राजस्व बाँडफाँड – रु. ८० लाख
- गाउँपालिकाको आन्तरिक श्रोत तथा बैंक मौज्दात – रु. २ करोड ५५ लाख
बजेटको खर्च विनियोजन

गाउँपालिकाले विकास, सेवा प्रवाह र प्रशासनिक कार्यमा खर्च हुनेगरी बजेट विभाजन गरेको छः
- कृषि क्षेत्र – रु. ७५ लाख
- शिक्षा क्षेत्र – रु. १ करोड ६३ लाख ४७ हजार
- पशु सेवा – रु. १० लाख ५० हजार
- स्वास्थ्य सेवा – रु. १ करोड ६० लाख ५८ हजार
- सामाजिक विकास कार्यक्रमहरू – रु. १ करोड
- चालु प्रशासनिक खर्च – रु. १० करोड ५८ लाख
- वडास्तरका कार्यक्रमहरू – रु. ३ करोड
नीति तथा कार्यक्रम सार्वजनिक

अध्यक्ष यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, रोजगारीमुखी कृषि, सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकास र सुशासनलाई आगामी वर्षको प्राथमिक एजेण्डा बनाइएको जानकारी दिए। उनले गाउँपालिकाको सेवा प्रवाहमा दक्षता र पारदर्शिता सुनिश्चित गरिने बताए ।
सेवामा राजनीति नगर्न सांसद रिजालको आग्रह

गाउँसभामा प्रमुख अतिथि रहेका प्रतिनिधिसभा सदस्य तथा पूर्व उद्योगमन्त्री रमेश रिजालले जनप्रतिनिधिहरूलाई सेवामुखी भएर काम गर्न आग्रह गरे । उनले भने, “शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा क्षेत्रमा कुनै कमी हुन दिनु हुँदैन । विकास र जनसेवामा राजनीति गर्नु दुर्भाग्यपूर्ण हुन्छ।” उनले स्रोत-साधनको प्रभावकारी उपयोगका लागि सबैलाई सहयोग र समन्वयमा काम गर्न आह्वान गरे ।
अधिवेशनमा उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, पाँचवटै वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको थियो ।