देशभर मनसुनी प्रणाली सक्रिय बनेपछि अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेश तथा अन्य पहाडी क्षेत्रहरूमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने महाशाखाले जनाएको छ । ती क्षेत्रमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । यस्तै, उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातसमेत हुन सक्ने जनाइएको छ ।
महाशाखाले जनस्वास्थ्य, कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।