नेपालगञ्जदेखि हुम्ला सिमकोटका लागि उडान भर्दै आएका निजी वायुसेवा कम्पनीहरूले आज मात्रै १४ वटा उडान गरेका छन् । सीता, समिट र तारा एयरले गरेका यी उडानमार्फत करिब १५० जना भारतीय तीर्थयात्री सिमकोट आइपुगेका हुन् ।
सडकमार्गबाट अझै नजोडिएको हुम्ला जिल्लाको सिमकोट विमानस्थल भारत, नेपाल र चीन जोड्ने महत्त्वपूर्ण नाका बन्दै गएको छ । सिमकोटबाट हिल्सा हुँदै भारतीय तीर्थयात्रीहरू चीनस्थित मानसरोवर र कैलाश पर्वत दर्शनका लागि जाने गर्दछन् । काठमाडौं–केरुङ हुँदै जानु झन्झटिलो हुने भएकाले अधिकांश यात्रुले सिमकोट–हिल्सा मार्ग रोज्ने गरेका छन् ।
सिमकोट विमानस्थलका कर्मचारी दीपेन्द्र भण्डारीका अनुसार गत जेठ २४ गते १२ जना विदेशी पर्यटक हुम्ला आएका थिए। त्यहीक्रममा यही असार २ गतेदेखि हालसम्म ३६२ जना भारतीय तीर्थयात्री हवाईमार्ग हुँदै सिमकोट आइपुगेका छन् । यहाँबाट तीर्थयात्रीहरू हिल्सा पुगेर त्यहाँबाट सडकमार्ग हुँदै चीन प्रवेश गर्छन् ।
स्थानीय प्रशासन, पर्यटन व्यवसायी र विमानस्थलले तीर्थयात्रीको व्यवस्थापन तथा सहजीकरणमा सक्रिय भूमिका खेलेका छन् । मानसरोवर र कैलाश दर्शनको लागि हुम्लाको यो नाका भारत र चीनबीचको धार्मिक तथा सांस्कृतिक सेतुका रूपमा स्थापित हुँदै गएको छ ।