हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावस्वरूप कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य पहाडी भूभागमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहने अनुमान गरिएको छ । कर्णाली, सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रका केही स्थान र अन्य भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
त्यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षासँगै हिमपातको पनि जोखिम रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीसमेत चल्ने सम्भावना छ। आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । कोशी प्रदेश लगायत पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हिमपातको जोखिम पनि रहेको छ ।
भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गगन बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले सबैलाई आग्रह गरेको छ ।