गएराति काठमाडौंको विष्णुमती खोलामा खसेको कारबाट एक युवतीलाई प्रहरी र स्थानीयवासीको सहयोगमा सकुशल उद्धार गरिएको छ । उद्धारको क्रममा प्रहरी र स्थानीय गरी पाँच जना घाइते भएका छन् ।
टोखा नगरपालिका–६ स्थित ग्राण्डी अस्पताल पछाडिको सडक हुँदै गइरहेको बा.प.०१–०३१ च ६१४१ नम्बरको निजी कार बुधबार राति करिब सवा १० बजे विष्णुमती खोलामा खसेको थियो । कार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ स्थायी बासिन्दा र हाल काठमाडौं धुम्बाराहीमा बसोबास गर्दै आएका ३५ वर्षीय अंकुश सिंहले चलाइरहेका थिए ।
कार खोलामा खसेलगत्तै चालक सिंह आफैं बाहिर निस्किए पनि कारमा सवार महिला यात्रु खोलामा फसेकी थिइन् । दाङको तुलसीपुर घर भई हाल टोखामै बसोबास गर्दै आएकी ३४ वर्षीया भावना ओलीलाई खोलामा बगिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा राति नै सकुशल उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी अपिलराज बोहोराले जानकारी दिए ।
उनका अनुसार उद्धारको क्रममा भावना ओली घाइते अवस्थामा फेला परेकी थिइन् भने उद्धारमा खटिएका तीन प्रहरी र दुई स्थानीयवासीसमेत घाइते भएका छन् । घाइतेहरूलाई बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचार गरिएको थियो। उपचारपछि बिहीबार बिहान सबैलाई डिस्चार्ज गरिएको छ ।
प्रहरीका अनुसार खोलाले बगाएको कार बाँनियाटार पुलसम्म पुगेपछि अड्किएको थियो । त्यही स्थानबाट भावना ओलीलाई राति करिब १२ बजेतिर उद्धार गरिएको हो । कार पनि क्रेनको सहायताले खोलाबाट निकालिएको प्रहरीले जनाएको छ ।
उद्धारमा खटिएका प्रहरीहरूमा टोखा प्रहरी प्रभागका हवलदार उमेशकुमार लोहोनी, सामाखुसी प्रहरी गणका सहायक हवलदार समिर विक, दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत सुमन थापा रहेका छन् । साथै टोखा बसोबास गर्दै आएका लम्जुङका १९ वर्षीय अर्जुन गुरुङ र २९ वर्षीय राजु तामाङसमेत उद्धारका क्रममा घाइते भएका हुन् ।
प्रहरी नायव उपरीक्षक निरञ्जन थापाको नेतृत्वमा ४५ जना सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित भएका थिए। उद्धारमा विपद् व्यवस्थापन प्रहरी कार्यालयबाट समेत टोली सहभागी भएको प्रहरीले जनाएको छ ।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ ।