जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा लागुऔषध चरेससहित एक जना ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १२ निवासी ३६ वर्षीय बुद्धी बहादुर स्याङ्तान रहेका छन् । प्रहरीका अनुसार बुधबार काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध लोड गरिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी सिर्सिया र जिल्ला प्रहरी कार्यालय पर्साबाट संयुक्त टोली खटिएको थियो ।
विभिन्न स्थानमा खाेजतलास गर्दा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकको सडकखण्डमा ट्रक रोकी राखेको अवस्थामा फेला पारिएको थियो ।
ट्रकको पछाडिको भागमा खोजतलास गर्दा सेतो प्लास्टिकको बोरामा लुकाइ छिपाइ राखिएको अवस्थामा १३ पोका चरेस फेला परेको पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रले बताए ।
बरामद चरेशको कुल तौल ३ सय १९ केजी रहेको छ । साथै चालकले लगाएको हाफ पाइन्टको खल्तीमा नगद रू. १,९२,००० (एक लाख बयानब्बे हजार) फेला परेको प्रहरीले जनाएकाे छ । ट्रक चालककाे बयानका अधारमा धाधिङबाट लाेड गरी भारत पुर्याउन लागुऔषध चरेस ल्याएकाे प्रतिक्रिया दिएकाे पर्सा प्रहरीले जनाएकाे छ ।
ट्रक, नगद र चालकसहित प्रहरीले लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको जानाएकाे छ ।