देशभर आज आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको जानकारी महाशाखाले दिएको छ ।
आज दिउँसो पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन् ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, रातिको समय कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले मौसममा हुने तीव्र परिवर्तनको कारण सतर्कता अपनाउन आम नागरिकलाई सुझाव दिएको छ ।