प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला जिल्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हुम्ला अब टाढा नरहेको उल्लेख गरेका छन् । उनले २६ वर्षदेखि भइरहेको प्रतीक्षा अन्त्य हुँदै गएको र सडक सञ्जाल विस्तारसँगै हुम्लाले अब नयाँ सम्भावनाहरू भेट्न सक्ने उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, "हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदै छ ।"
उनका अनुसार यो सडक सञ्चालनमा आएपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग सिधा रूपमा जोडिनेछ । उनले यो प्रगति नेपालको भौगोलिक एकता र समृद्धिको दिशामा ठूलो उपलब्धि हुने बताएका छन् ।