माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
यसपटकको एसईई परीक्षामा सहभागी ५ लाख १४ हजार ७१ परीक्षार्थीमध्ये ६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। तीमध्ये ३.६ देखि ४.० सम्मको ग्रेड पोइन्ट एभरेज (GPA) ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको बोर्डले जनाएको छ ।
नतिजा सार्वजनिकमा यसवर्ष केही ढिलाइ भएको हो । बोर्डका अनुसार उत्तरपुस्तिका परीक्षणमा शिक्षकहरूको आन्दोलनले प्रभाव पारेकाले नतिजा प्रकाशनमा समय लागेको हो ।
गत वर्षको तुलनामा यसपटक परीक्षार्थीको संख्या उल्लेख्यरूपमा बढेको छ। गतवर्षको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी भएका थिए भने यो वर्ष ४९ हजार २८६ जना बढी विद्यार्थीले परीक्षा दिएका थिए ।
नतिजा हेर्ने तरिका
राष्ट्रिय परीक्षा बोर्डले एसईई २०८१ को नतिजा विभिन्न माध्यममार्फत हेर्न सकिने जानकारी दिएको छ ।
विद्यार्थीहरूले SMS, IVR तथा आधिकारिक वेबसाइटमार्फत नतिजा हेर्न सक्नेछन् ।
हालै सार्वजनिक नतिजाको सम्पूर्ण विवरण (ग्रेडसिट) वेबसाइटहरूमा अपलोड हुन केही समय लाग्न सक्ने भए पनि जीपीए (GPA) भने तुरुन्तै हेर्न सकिने बोर्डले जनाएको छ ।
बोर्डले नतिजा हेर्दा धैर्य अपनाउन र केवल आधिकारिक स्रोतहरूमा मात्र भर पर्न विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूसँग अनुरोध गरेको छ ।