प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा आएको सुधार आफूहरूकै मेहनतको फल भएको बताएका छन् ।
एसईई नतिजा सार्वजनिक भएलगत्तै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नतिजा सुधारमा सरकारको प्रयास सफल भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नु भएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनु परेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।’
प्रधानमन्त्री ओलीले ग्रेड नपाउने विद्यार्थीहरूलाई निराश नहुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई अन्तिम परीक्षा नठान्नुस्, सफलताको अर्को दिन पनि आउनेछ ।’
यस वर्ष ३.६० देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।