कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले किसानको हितमा सरकार दृढप्रतिबद्ध रहेको बताएका छन् । “धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने नारासहित आज खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा आयोजित २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८२ मा मन्तव्य दिँदै मन्त्री अधिकारीले स्रोत र साधनको सीमितताका बाबजुद पनि राज्यले किसानको पक्षमा उचित कदम चाल्ने बताए ।
उनी भन्छन्, “असारमा हिलोमा टेक्नै पर्ने हाम्रो परम्परा हो । जबसम्म हामी उत्पादनमा ध्यान दिन सक्दैनौं, तबसम्म समृद्ध नेपालको सपना पुरा हुँदैन । दुई वर्षभित्र हामी धानमा आत्मनिर्भर हुनेछौं। सरकारले केवल प्रतिबद्धता जनाउने होइन, काम गरेर देखाउने छ ।”
मन्त्री अधिकारीले धान दिवसको आगामी संस्करणसम्ममा उत्पादन वृद्धिको उपलब्धि देखिने विश्वाससमेत व्यक्त गरे । मल अभावका कारण रोपाइँ प्रभावित हुने अवस्थाको अन्त्यका लागि आवश्यक व्यवस्थापन गरिसकिएको जानकारी उनले दिए ।
कार्यक्रममा संघीय संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत विकास समितिका सभापति कुसुम थापाले किसान सशक्त बनाएर देशलाई खाद्यमा आत्मनिर्भर बनाउनेतर्फ संसद्ले आवश्यक नीतिगत छलफल अगाडि बढाउने प्रतिबद्धता जनाइन् ।
कृषि मन्त्रालयका सचिव दीपककुमार खरालले भू–उपयोग नीतिका कारण खेतीयोग्य जमिन आवासीय क्षेत्रमा परिणत भएको चुनौती रहेको बताए । उत्पादन, खपत र निर्यातमा सन्तुलन ल्याएर आत्मनिर्भरता हासिल गर्न आवश्यक नीति र कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक कृष्णप्रसाद तिम्सिनाले जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन गर्दै विभिन्न जातका धान विकास गरिरहेको जानकारी दिए । उनले सन् २०३० भित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यमा परिषद् क्रियाशील रहेको बताए ।