सिरहाको प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ ।
सिरहा नगरपालिका–६ बसबिट्टाका १२ वर्षीय राजन महराको सोमबार बिहान मृत्यु भएपछि परिवारजन र स्थानीय आन्दोलित भएका हुन् । राजन महरालाई असहज महसुस भएपछि परिवारले सोमबार बिहान अस्पताल लगेको थियो। तर उपचारकै क्रममा उनको निधन भयो। जिल्ला प्रहरी कार्यालय सिरहाले बालकको मृत्युको पुष्टि गरेको छ ।
वडा नं. ६ का अध्यक्ष इन्द्रजित यादवले अस्पतालमा सेवाप्रति गम्भीर लापरबाही हुने गरेको आरोप लगाए। “हामीले पटक–पटक सेवा सुधारको माग गर्यौँ, तर बेवास्ता भयो,” उनले भने, “अस्पताल प्रशासनको लापरबाहीकै कारण नाबालकको ज्यान गएको हो ।”
बालकको मृत्यु भएपछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पतालको मुख्य गेटअगाडि टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले दोषीको पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।
प्रादेशिक अस्पताल सिरहाका सूचना अधिकारी रामनारायण चौधरीले भने राजन महरालाई गम्भीर रक्तअल्पता (Severe Anemia) भएको जानकारी दिए ।
“उनको हेमोग्लोबिनको मात्रा २.५ ग्राम प्रतिडेसिलिटर मात्रै थियो, जुन अत्यन्तै खतरनाक अवस्था हो,” चौधरीले भने । उनका अनुसार बिरामीलाई बी–पोजेटिभ रगत आवश्यक थियो । रगतको जोहो गरिए पनि ब्लड ट्रान्सफ्युजनको तयारी भइरहेका बेला बालकको निधन भएको बताइएको छ ।
अस्पतालका आकस्मिक सेवा इन्चार्ज डा. नितेश कर्णका अनुसार बिरामीलाई तुरुन्त परीक्षण र उपचार दिइएको थियो। “तर अवस्था अत्यन्तै नाजुक भएकाले जोगाउन सकिएन,” उनले स्पष्ट पारे ।
राजन महराको असमय मृत्युले परिवार र स्थानीय समुदायमा गहिरो पीडा पैदा गरेको छ । एकातिर अस्पताल प्रशासन बिरामीको अवस्था अत्यन्तै जटिल भएको दाबी गर्छ भने अर्कातर्फ पीडित परिवार र स्थानीय जनप्रतिनिधिहरू लापरबाहीलाई दोष दिइरहेका छन् ।
यस घटनाले सरकारी अस्पतालहरूमा सेवा प्रवाहको गुणस्तर र निगरानी प्रणालीप्रति पुनः बहस जन्माएको छ ।
भिडियाे सामाग्री