पर्साको जगरनाथपुर गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जगरनाथपुर गाउँपालिकाको आयोजनामा र मधेश खबर मल्टिमेडिया प्रा.लि. वीरगञ्जको सहजीकरणमा वडा नं. ३ स्थित बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयामा सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष यादवले पालिकाभित्रका करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा विद्युतीय तार र पोलको व्यवस्थापन गरिने जानकारी दिए । उनले किसानलाई भूमिगत सिँचाइको सुविधा न्यूनतम महसुलमा उपलब्ध गराई आधुनिक खेतीलाई प्रवर्द्धन गरिने बताए । साथै, कृषि मोटर र उन्नत बीउबिजन वितरण कार्यक्रम सञ्चालन भइरहेको जानकारी समेत उनले दिए ।
स्वास्थ्य सेवाको सन्दर्भमा अध्यक्ष यादवले दीर्घकालीन रोगको पहिचान र समयमै उपचारका लागि रगत परीक्षण लगायतका सेवा प्रदान गरिँदै आएको उल्लेख गरे । कार्यक्रममा उपाध्यक्ष बबिता सिंह क्षेत्रीले महिलाको सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरताका लागि विभिन्न सीप विकास तालिम सञ्चालन गरिने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले चालू आर्थिक वर्षका कार्यक्रमहरू र आगामी वर्षका योजनाबारे जानकारी गराउँदै पालिकामा प्रशासनिक भवन, सडक र शैक्षिक पूर्वाधार निर्माणको काम अघि बढाइने बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बालविवाह, बालशोषण, दाइजो प्रथा जस्ता सामाजिक कुरीति अन्त्य गर्न नागरिकलाई सचेत हुन आह्वान गरे । साथै, लागूऔषधको रोकथाममा पनि समुदायको सहकार्य अपरिहार्य रहेको बताए ।
सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धितालले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण तथा विपद् व्यवस्थापनका लागि नागरिकको सक्रिय भूमिका आवश्यक रहेको बताए ।
कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी साह, नेपाली कुशवाहा, सुभाष कुमार यादव, लेखा अधिकृत सन्देश कुशवाहा, शिक्षा अधिकृत अशोक सिंह, स्वास्थ्य शाखा अधिकृत परमेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।