डिभिजन वन कार्यालय वीरगन्ज, पर्सा र आयोजना तथा प्रकृति संरक्षणका लागि स्थानीय पहल नेपाल, वीरगन्ज–१६ पर्साको संयुक्त आयोजनामा समुदायमा आधारित वनका पदाधिकारीहरूलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
वीरगन्जस्थित होटल अन्नपूर्णमा सम्पन्न उक्त तालिममा वन संरक्षण, समुदायको भूमिका, प्राकृतिक स्रोतहरूको दिगो उपयोग, तथा वातावरणीय सन्तुलन कायम राख्नुपर्ने विषयमा सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो । डिभिजन वन कार्यालय पर्साका प्रमुख वन अधिकृत जाकिर हुसेन अन्सारीले गमलामा बिरुवा रोपेर औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका छन् । सामुदायिक वनका पदाधिकारीहरूलाई लक्षित गरी आयोजित क्षमता अभिवृद्धि तालिम तथा अन्तरक्रिया कार्यक्रमको उद्घाटन उनले प्रतीकात्मक वृक्षारोपण गर्दै गरेका हुन् ।
बिरुवा रोपणपछि आफ्नो धारणा राख्दै वन अधिकृत अन्सारीले वातावरणीय संरक्षणको सुरुवात व्यक्तिको आफ्नै घरबाट हुनुपर्नेमा जोड दिए । "गमलामा बिरुवा रोप्नु भनेको प्रकृतिप्रति सम्मान प्रकट गर्नु हो," उनले भने, "सामुदायिक वन संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक छ।"उनले चोरीपैठारी नियन्त्रण, इमानदार वन व्यवस्थापन, तथा समुदाय–प्रशासन सहकार्यबारे पनि प्रकाश पारे । "वन क्षेत्रलाई दिगो रूपमा जोगाउन सामूहिक जिम्मेवारी आवश्यक छ," अन्सारीले बताए ।
कार्यक्रममा विभिन्न तहका सरोकारवालाहरूको उपस्थिति रहेको थियो भने सहभागीहरूले पनि वातावरण संरक्षणमा व्यवहारिक अभ्यासको थालनी उच्च मूल्यको सन्देश भएको धारणा राखेका थिए । कार्यक्रममा डिभिजन वन कार्यालयका पदाधिकारी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरू र सरोकारवाला निकायहरूको सक्रिय उपस्थिति रहेको थियो।
उक्त तालिमको उद्देश्य सहभागीहरूलाई वन नीति, कानुनी संरचना, आधुनिक वन व्यवस्थापन प्रविधि तथा वातावरणीय मुद्दाहरूमा थप ज्ञान दिनु रहेको आयोजक संस्थाहरूले जनाएका छन् । तालिममा सहभागीहरूले हाल वन क्षेत्रमा भइरहेको चोरीपैठारी नियन्त्रणका लागि समुदाय र वन कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याए। साथै, वन प्रशासनमा कार्यरत कर्मचारीहरू इमानदार र पारदर्शी बन्नुपर्नेमा पनि जोड दिए ।
समुदायमै आधारित सशक्त संरचना निर्माण गरेर दीर्घकालीन वन संरक्षण सुनिश्चित गर्न यस्ता तालिम र अन्तरक्रियाहरू निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका छन्।