जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक यादवविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेको आरोपमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ । हालसम्म यादव पक्राउ परेका छैनन् तर उनी र एसपी खड्काबीचको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि प्रकरण थप संवेदनशील बनेको छ ।
सार्वजनिक अडियोमा यादवले एसपीलाई “तिमीहरू लुट्न मधेशमा आएका हौ” भन्दै गाली गरेको सुनिन्छ । एसपी खड्काले “कसलाई गाली गरेको?” भनी प्रतिप्रश्न गरेको आवाज पनि उक्त अडियोमा छ । अडियोमा यादवले बारम्बार “ए एसपी, ए एसपी सुन्” भन्दै अधिकारीप्रति अपमानजनक भाषा प्रयोग गरिरहेका छन् ।
यस सम्बन्धमा मधेश प्रदेशका डीआईजी उमा चतुर्वेदीले भने अनुसन्धान प्रक्रिया चलिरहेको जनाउँदै अहिले केही खुलस्त गर्न नमिल्ने बताए । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार अडियोको सत्यता पुष्टि गर्न मधेश प्रदेश प्रहरी कार्यालयलाई अनुसन्धान निर्देश दिइएको छ।
घटनाले राजनीतिक र प्रहरी प्रशासनबीचको सम्बन्धमा तनाव उत्पन्न भएको देखिएको छ भने सार्वजनिक क्षेत्र र सामाजिक सञ्जालमा यादवको अभिव्यक्तिप्रति तीव्र आलोचना भइरहेको छ ।