कलैया उपमहानगरपालिका वडा नम्बर ३ स्थित नेपाल विद्युत प्राधिकरणसँगै रहेको ए प्लस हस्पिटल एन्ड ट्रमा सेन्टरले आज (शुक्रबार) एक वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
गर्मी मौसममा रगतको चरम अभाव भइरहेका बेला अस्पतालले रगत अभाव टार्नका लागि प्रभावकारी पहल स्वरूप यो कार्यक्रम आयोजना गरेको हो । बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको कार्यक्रममा चर्को गर्मीका बाबजुद ६८ जनाले रक्तदान गरेका छन् । तीमध्ये १४ जना महिलाहरूको उत्साहजनक सहभागिता रहेको अस्पतालका सीईओ सुनिल उपाध्यायले जानकारी दिए ।
रक्तदान कार्यक्रमको उद्घाटन कलैया–२७ का वडाध्यक्ष अशोक तिवारीले गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तिवारीलाई रक्त संकलन सामग्री हस्तान्तरण गर्दै सीईओ उपाध्यायले शुभारम्भ गरेका थिए । रक्तदाताहरूलाई वरिष्ठ फिजिसियन डा. बिकेश पाण्डे र स्त्रीरोग विशेषज्ञ डा. नवनीत राज पाण्डेले टीका र खादा लगाएर सम्मान गरेका थिए ।
रक्तदानमा सहभागीमध्ये डा. बिकेश पाण्डे, डा. नवनीत राज पाण्डे, पूनम पाण्डे, लक्ष्मी कुमारी मिश्र, रबिना महतो, जनमत पार्टीका केन्द्रीय सदस्य विकास सिंह, रुद्रदेव पाठक, समिना खातून, डा. आशिष यादव, पूजा यादव, रितु जैसवाल, चन्द्रमा कुमारी साह, रामबाबु पटेल, कविराज मगर, अनमोल पासवान लगायत थिए ।
रक्त सञ्चार शाखा कलैयाका इन्चार्ज राजबाबु गुप्ताको नेतृत्वमा ८ जनाको प्राविधिक टोलीले कार्यक्रम सफल बनाउन सहयोग गरेको थियो। गुप्ताका अनुसार गर्मीका कारण रक्तदाताहरू कम हुने भएकाले रक्त सञ्चार केन्द्रहरूमा चरम अभाव देखिएको छ। प्रादेशिक अस्पताल कलैयाको रक्त सञ्चार शाखामा दैनिक १०–१५ बिरामीलाई रगत नपाएर अन्यत्र पठाउनुपर्ने अवस्था रहेको उनले बताए ।
एनिमिया, थैलेसेमिया, दुर्घटनामा परेका बिरामी, शल्यक्रिया गरिने बिरामी तथा सिजेरियन सेक्शनमार्फत सुत्केरी गरिने महिलाहरूलाई रगतको अत्यावश्यकता हुने हुँदा यस्ता कार्यक्रम अत्यन्त उपयोगी हुने गुप्ताले बताए । ए प्लस हस्पिटलको यो प्रयास जिल्लावासीका लागि ठूलो राहत भएको उनको भनाइ थियो ।
रक्तदाता पूनम पाण्डेले आफ्नो पाँचौँ पटक रक्तदान गरेको बताउँदै रक्तदानले अन्यको जीवन बचाउनुका साथै आत्मसन्तुष्टि पनि दिने बताइन् । उनले धार्मिक, सामाजिक र स्वास्थ्यको दृष्टिले रक्तदानलाई महत्वपूर्ण मानेकी छन् ।
हस्पिटलका डाइरेक्टर प्रेमलाल पाण्डेले छोटो समयमै यति ठूलो रक्तदान कार्यक्रम आयोजना गर्न पाउनु गौरवको विषय भएको बताए। उनले अन्य अस्पताल र संस्थाहरूलाई पनि यस्तै कार्यक्रम गरेर गर्मी मौसममा रगत अभाव टार्न अग्रसर हुन आह्वान गरे ।