गोसाइकुण्ड गाउँपालिका –२ स्थित रसुवागढी क्षेत्रमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण ३ जना नेपाल प्रहरी, ९ जना नेपाली सेना र ६ जना चिनियाँ नागरिक गरी जम्मा १८ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको प्रारम्भिक विवरणअनुसार १८ जना अझै सम्पर्कविहीन छन् । यस्तै, एक जना नेपाल प्रहरी, एक जना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरूपमा बगाएको छ। पुलमा पूर्ण क्षति भएको र आवागमन अवरुद्ध भएको स्थानीय प्रशासनले जनाएको छ ।
त्यस्तै, गोसाइकुण्ड गाउँपालिका–५ अन्तर्गत पर्ने पासाङल्हामु सडकखण्डको धुन्चे–टिमुरे सडक पनि बाढीका कारण चर्किएको छ र यातायात पूर्णरूपमा अवरुद्ध भएको छ ।
भवन समेत बाढीको उच्च जोखिममा परेको जानकारी प्राप्त भएको छ, यद्यपि यसबारे विस्तृत विवरण आउन बाँकी छ ।
प्रशासन, नेपाली सेना र प्रहरीसहितको टोली उद्दार तथा खोजी कार्यमा खटिएको छ । भारी वर्षा अझै जारी रहेकाले जोखिम अझ बढेको अधिकारीहरूले बताएका छन् ।