नयाँ सवारीसाधन आयात हुने नेपालको प्रमुख भन्सार नाका वीरगन्जबाट पछिल्लो समय तयारी मोटरसाइकलको साटो अनएसेम्बल्ड (पार्टपुर्जामा) मोटरसाइकलको आयात ह्वात्तै बढेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनासम्मको तथ्यांकअनुसार, वीरगन्ज भन्सार नाकाबाट ४ हजार १ सय ६० थान एसेम्बल्ड (पूर्ण रूपमा तयार) मोटरसाइकल आयात भएको छ । यस अवधिमा ४४ हजार २ सय ४० थान अनएसेम्बल्ड (तयार नपारिएको) मोटरसाइकल आयात भएका छन् ।
भन्सार कार्यालयका अनुसार ४ हजार १ सय ६० थान तयारी मोटरसाइकलको मूल्य ३९ करोड रुपैयाँ बराबर छ भने यसबाट ४९ करोड रुपैयाँ राजश्व संकलन भएको छ। त्यस्तै, ५ अर्ब ७८ करोड रुपैयाँ बराबरको ४४ हजार २ सय ४० थान अनएसेम्बल्ड मोटरसाइकल आयात भई ५ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार नेपालमा बढी रुचाइएका मोटरसाइकल ब्रान्डहरू जस्तै– पल्सर, टिभिएस, रोयल इनफिल्ड लगायतका कम्पनीहरूले नेपालमै एसेम्बलिङ प्लान्ट स्थापना गरेका छन् । तिवारीका अनुसार यस कारण पूर्ण रूपमा तयार मोटरसाइकलको साटो पार्टपुर्जामा मोटरसाइकल आयात हुने प्रवृत्ति बढेको हो ।
उनले तयारी मोटरसाइकलको तुलनामा पार्टपुर्जामा आयात हुने मोटरसाइकलमा भन्सार तथा अन्तःशुल्क दुबैमा झन्डै २५ प्रतिशत कम राजश्व लाग्ने भएकाले पनि मोटरसाइकल उत्पादक कम्पनीहरू नेपालमै एसेम्बलिङ प्लान्ट खोल्न इच्छुक भएका हुन् भने ।
वीरगन्ज नाका हुँदै भारत र तेस्रो मुलुकबाट मोटरसाइकल आयात हुने गर्छ भने तुलनात्मक रूपमा भारतीय मोटरसाइकलको आयात बढी देखिएको छ ।