वीरगञ्जको आदर्शनगरस्थित ‘दियालो लर्ड्स होटल’को लापरवाहीले एक बालककाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–११ निवासी ९ वर्षीय बालक बजरंगी रौनियारको बुधबार साँझ होटलको स्वीमिङ पुलमा डुबेर मृत्यु भएको हाे । दियालो लर्ड्स होटलको स्वीमिङ पुलमा नुहाउने क्रममा डुबेका बालकलाई तत्काल गम्भीर अवस्थामा नारायणी अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।
पर्सा प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी किशोर लम्सालका अनुसार, बालक नुहाउने क्रममा एक्कासी डुबेका थिए । “साथीसँग स्वीमिङ गर्न गएका बालक डुबेर अचेत भए । तुरुन्त अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरे,” ।
प्रारम्भिक अनुसन्धानको आधारमा घटनामा लापरवाही भएको ठहर गर्दै अनुसन्धानलाई सूक्ष्म रूपमा अघि बढाएको पर्सा प्रहरीले जनाएकाे छ । "स्वीमिङ पुलमा सुरक्षा व्यवस्था नगरी, जीवनरक्षक उपकरण बिना र बालबालिकालाई निगरानी बिनै प्रवेश दिइनु लापरवाही भएको प्रहरीले जनाएकाे छ ।
घटना भएको ‘दियालो लर्ड्स होटल’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको स्वामित्वमा रहेको हो । पछिल्ला वर्षहरूमा बालबालिकामाझ पौडी खेल्ने प्रचलन बढ्दो छ । तर, सुरक्षा उपायको अभाव र होटल तथा रिसोर्टहरूले नियम पालना नगर्दा यस्ता दुखद घटना दोहोरिन थालेका छन् ।
यसबीच, मृतक बालकको परिवारले होटलको चरम लापरवाहीका कारण आफ्नो बच्चाको ज्यान गएको भन्दै कडा कारबाहीको माग गरेका छन् ।
वीरगञ्जलगायत मुलुकका अन्य सहरमा होटल, रिसोर्ट तथा स्वीमिङ पूल सञ्चालकहरूले न नियमको पालना गर्छन्, न सुरक्षा मापदण्डमा ध्यान दिन्छन् । स्थानिय प्रशासन र पर्यटन विभागले समय–समयमा अनुगमन नगरेकाले यस्ता दुर्घटना बढेकाे देखिन्छ ।
भिडियाे सामाग्री