सिराहा, लहान नगरपालिका–१ बाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका–१ का ३० वर्षीय बोना उर्फ राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले बिहीबार राति लु. ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो ।
जाँचको क्रममा उनीहरूको साथबाट डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । पक्राउ परेका दुवै जनाको आपराधिक पृष्ठभूमि तथा लागूऔषध कारोबारमा संलग्नताको विषयमा गहिरो अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
यसरी खुलेआम लागूऔषधको ओसारपसार भइरहेको पाइएको घटनाले लहान क्षेत्रमा लागूऔषध कारोबार बढ्दै गएको संकेत देखाएको स्थानीयवासीको चिन्ता व्यक्त भएको छ ।
प्रहरीले आगामी दिनमा यस्ता गतिविधि नियन्त्रणमा ल्याउन थप निगरानी र कडाइ गरिने जनाएको छ ।