भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत कुमार आचार्य २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार मालपोत कार्यालय भक्तपुरको व्यासीस्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । चाँगुनारायण नगरपालिका–९ मा रहेको १४ रोपनी ४ आना जग्गा मोहीको नाममा धनीपुर्जा बनाउने प्रयोजनका लागि उनले उक्त रकम घुसको रूपमा माग गरेको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले आचार्यसँगै सोही कार्यालयका कार्यालय सहयोगी टीकाराम राउतलाई पनि नियन्त्रणमा लिएको छ। राउतले घुस रकम लिएको अवस्थामा पक्राउ परेका हुन् ।
५४ वर्षीय कुमार आचार्य उदयपुरको बेलका नगरपालिका–४, हरिपुरका स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७, फोर्सपार्क टोलमा बस्दै आएका छन् ।
५१ वर्षीय राउत भक्तपुर चाँगुनारायण नगरपालिका–९, राउतटोलका स्थायी बासिन्दा हुन् भने हाल लोकन्थलीमा बसोबास गर्दै आएका छन् ।
अख्तियारको विज्ञप्तिमा भनिएको छ, ‘चाँगुनारायण नगरपालिका–९ मा रहेको १४ रोपनी ४ आना जग्गा मोही तथा तलसिङको लगत कट्टा गरी मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनका लागि माग गरिएको २४ लाख ५० हजार रुपैयाँ घुस अख्तियारको टोलीले बरामद गरेको हो । कार्यालय प्रमुख आचार्यको साथबाट दुई थान मोबाइल र राउतको साथबाट मोबाइल तथा रकमसमेत बरामद गरिएको छ ।’
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।