मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी, सरसफाइ तथा ढल निकास मन्त्री प्रदीप यादवबीच जनकपुरधाममा मंगलबार भेटवार्ता भएको छ । भेटका क्रममा मधेस प्रदेशमा विद्यमान खानेपानी समस्याको समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त रूपमा अभियान सञ्चालन गर्ने सहमति भएको हो ।
भेटमा दुवै सरकारका संयन्त्रहरुलाई संयुक्त रूपमा परिचालन गर्दै खानेपानी संकट अन्त्यका लागि आवश्यक पहल सुरु गर्ने निर्णय गरिएको छ । सरकारको उपलब्ध साधनस्रोतको अधिकतम प्रयोग गरेर खानेपानी समस्या समाधान गर्ने र खानेपानीसँग सम्बन्धित सशर्त योजनाहरुलाई तत्काल कार्यान्वयन गरिने विषयमा सहमति भएको छ ।
खानेपानी संकटका वेला जनताको साथमा उभिनु दुवै सरकारको दायित्व रहेको भन्दै सरोकारवाला मन्त्रालय र निकायहरुलाई प्रभावकारी रूपमा कार्यान्वयनमा जुट्न निर्देशन दिइएको छ ।
उक्त भेटका क्रममा मधेस प्रदेशका ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठसहित सम्बन्धित मन्त्रालयका विज्ञ तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।