वीरगन्ज क्षेत्रमा बढ्दो रगतको अभाव र उपचारमा देखिएको चुनौतीलाई सम्बोधन गर्न शनिबार विशेष रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र वीरगन्जको समन्वयमा तथा गौतम स्कुलको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
‘एक घर, एक रक्तदाता’ भन्ने नाराका साथ सञ्चालन हुने यो अभियानले समाजमा रक्तदानप्रति चेतना अभिवृद्धि गर्नुका साथै बिरामीको जीवनरक्षाका लागि नियमित रक्तदान संस्कार स्थापित गर्ने उद्देश्य राखेको गौतम स्कुलले जनाएको छ ।
विद्यालयले आफ्ना २,१०० भन्दा बढी विद्यार्थीहरूलाई रक्तदानको महत्त्व, यसका फाइदाहरू र आपतकालीन अवस्थामा रक्तदानले कसरी जीवन बचाउन सक्छ भन्ने विषयमा कक्षा प्रशिक्षण दिएको छ। साथै, विद्यार्थीहरूमार्फत अभिभावकसम्म सन्देश पुर्याउन नेपाल रेडक्रसका स्वयंसेवकहरूको संयोजनमा पर्चा–पम्पलेट वितरण गरिएको छ ।
‘रगतको अभावका कारण धेरै बिरामीहरू समयमै उपचार पाउनबाट वञ्चित हुँदै आएका छन्,’ आयोजकले भने, ‘यदि हरेक घरबाट कम्तीमा एक जनालाई रक्तदाता बनाउन सकियो भने समाजमा ठूलो सकारात्मक प्रभाव पर्न सक्छ ।’
गौतम स्कुलका अनुसार, वीरगन्जमा नियमित रूपमा देखिने रगत अभावको समस्यालाई सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिने भएकाले ‘एक घर, एक रक्तदाता’ अभियानले दीर्घकालीन सामाजिक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रम शनिबार विद्यालयको जुनियर विंग भवनमा सञ्चालन हुनेछ। आयोजकले यस पुण्य कार्यमा सहभागी भई जीवन बचाउन तथा सन्तानलाई सेवा, दया र मानवीयताको अमूल्य पाठ सिकाउन अभिभावक, नागरिक र समुदायका सबै सदस्यहरूलाई हार्दिक आह्वान गरेका छन् ।