महोत्तरी गाउँपालिका–१ पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपमा एक युवती पक्राउ परेकी छन् । पक्राउ परेकी महोत्तरीकै बनौटा घर भएकी २१ वर्षीया जुली झाले प्रहरीसमक्ष दिएको बयानले सनसनी मच्चाएको छ ।
जुलीले प्रहरी समक्ष आत्मरक्षाका लागि आफूले हत्या गरेको दाबी गरेकी छन् । उनले भनेकी छन्, “मसँग दुई विकल्प थिए — आत्महत्या गर्ने या उसलाई मार्ने। मैले दोस्रो विकल्प रोजें।”
तीन वर्षदेखि ब्ल्याकमेल गर्दै शारीरिक सम्बन्ध
जुलीका अनुसार तीन वर्षअघि फेसबुकमार्फत उनीहरूबीच चिनजान भएको थियो । त्यसपछि सहमतिमै शारीरिक सम्बन्ध भएको बताएकी उनले बिमलेशले ती सम्बन्धको फोटो तथा भिडियो खिचेर आफूमाथि ब्ल्याकमेल गर्दै शारीरिक शोषण गर्दै आएको आरोप लगाएकी छन् ।
उनको भनाइअनुसार बिमलेशले फेसबुकको फेक आईडी बनाइ ती तस्बिर तथा भिडियो उनका आफन्त र साथीहरूलाई पठाउँदै आएको र सामाजिक रूपमा उनको चरित्र हत्या गर्ने काम गरिरहेको थियो ।
गेष्ट हाउसमै हत्या
जुली धनुषामा बस्दै स्नातक अध्ययन गरिरहेकी थिइन् । बिमलेशसमेत प्रायः उनीसँग भेट्न धनुषा आउने गरेका थिए । साउन ३ गते पनि बिमलेशले जुलीलाई एक गेष्ट हाउसमा बोलाएका थिए ।
जुलीको बयान अनुसार ती रात बिमलेशले अत्यधिक मदिरा सेवन गरेका थिए । त्यही अवस्थामा होटलको तरकारी काट्ने चक्कु प्रयोग गरेर उनले बिमलेशमाथि प्रहार गरेकी थिइन् । चक्कु लागेर गम्भीर घाइते भएका बिमलेश छटपटिँदै गेष्ट हाउसको पहिलो तलाबाट खसेका थिए ।
राति नै प्रहरीलाई जानकारी दिइएको थियो । प्रहरी चौकी जिरोमाइलबाट टोली घटनास्थल पुग्दा बिमलेश नग्न र रगताम्य अवस्थामा फेला परेका थिए । उनलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याइए पनि साउन ४ गते बिहान ७:४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
सीसीटीभी फुटेजमा हत्या अघिको दृश्य
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार गेष्ट हाउसको सीसीटीभी फुटेज समेत अनुसन्धानका क्रममा हेर्ने क्रममा बिमलेश र जुली साउन ३ गते राति ९:५० मा बा ४५ प ४५८६ नम्बरको मोटरसाइकलमा गेष्ट हाउस प्रवेश गरेको देखिएको छ ।
बिमलेशले गेष्ट हाउसमा आफ्नो नाम शनि यादव भनेर इन्ट्री गरेका थिए । बिहान २:५७ मा उनी होटलको पहिलो तलाबाट नग्न र रगताम्य अवस्थामा खसेको दृश्य पनि फुटेजमा देखिएको छ । जुली भने बिहान ३:०४ मा खाली खुट्टा होटलबाट भाग्दै गरेको देखिएको प्रहरी बताउँछ ।
पक्राउ र अनुसन्धान
हत्यापछि जुली महोत्तरीकै परौल भन्ने स्थानमा लुकेकी थिइन् । प्रहरीले साउन ४ गते दिउँसो १२ बजे उनीलाई पक्राउ गरेको हो । एसपी रेग्मीका अनुसार बिमलेश सशस्त्र प्रहरीका भगौडा हुन् र केही समय वैदेशिक रोजगारी गरेर फर्किएका थिए ।
घटनाबारे मृतकका परिवारसँग समेत बयान लिने कार्य भइरहेको प्रहरीले जनाएको छ । जुलीविरुद्ध कर्तव्य ज्यानअन्तर्गत मुद्धा दर्ता गरी जिल्ला अदालत धनुषाबाट म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको छ ।