धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक धारिलो हतियार प्रहार गरी एक किशोरीको ज्यान लिइएको छ भने दुई जना घाइते भएका छन् ।
हतियार आक्रमणमा परी मृत्यु हुनेमा धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरकी १४ वर्षीया अञ्चली यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन् । घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
अञ्चली जनकपुरधाममा आमासँग डेरा गरी बस्दै अध्ययनरत थिइन् ।
रातिको समयमा आक्रमण
घटना गएराति ११ बजेतिर भएको मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमा चतुर्वेदीले जानकारी दिइन् । उनका अनुसार पीडितहरू सुतेकै अवस्थामा आक्रमण भएको आशंका गरिएको छ । धारिलो हतियार प्रयोग गरी आक्रमण गर्ने व्यक्ति फरार भएका थिए । प्रहरीले घटनाको अनुसन्धान थालेको र आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । प्रहरीले घटनाको प्रारम्भिक कारणबारे जानकारी खुल्न बाँकी रहेको जनाएको छ ।
आक्रमण कुन उद्देश्यले गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
भिडियाे सामाग्री