भ्रष्टाचार मुद्दामा दाेषि ठहर भएका कमल उपाध्यायलाई प्रेस चाैतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निस्कासन गरेकाे छ ।
प्रेस चाैतारी नेपाल केन्द्रीय समितिका महासचिव हिरामान लामाको हस्ताक्षर सहित जारी गरिएको पत्रमा अदालतबाट फौजदारी कसुरमा दोषी ठहर भई प्रेस चौतारी नेपालको विधान २०५५ को आठौं संशोधन २०७९ को दफा ३, दफा ५ को (ग) बमोजिम सदस्य समेत नरहने गरी निष्काशन गरिएको उल्लेख गरेको छ ।
पचरौता नगरपालिकाको दुई वटा ठेक्काको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नु पर्नेमा नगरी झूटा विवरण मार्फत उपाध्यायले केवल रेकर्डका लागि एक प्रति मात्र टेण्डर सूचना प्रिन्ट गराएर ३ लाख ५२ हजार ५६० रुपैयाँको खर्च देखाएकाे अख्तियारकाे ठहर थियाे । प्रकाशन देखाएर रकम निकालेर भ्रष्टाचार गरेकाे अाराेपमा विशेष अदालतले दोषी ठहर गर्दै ६ महिनाको कैद र १ लाख १७ हजार ५ सय २० रुपैयाँ जरिवाना गर्ने असार ८ गते फैसला सुनाएको थियाे ।
विशेष अदालतमा भ्रष्टाचार प्रमाणित भएका कमल उपाध्यायलाई प्रेस चाैतारीले अनुशासन र विधिको पालना सुनिश्चित गर्न एक महिना ढिलाेगरी उपाध्यायलाई सधारण सदस्य समेत नरहने गरि निस्कासन गरेको छ ।
प्रेस चाैतारीले यसअघि अवैधानिक गतिविधिकाे अाराेपमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष अनुप तिवारीलाई चाैतारीबाट कार्वाही गरेको थियाे ।
मधेश प्रदेश मिडिया काउन्सिलकाे अध्यक्षमा गत वैशाख ७ गते नियुक्त भएका कमलकुमार उपाध्यायलाई ‘मधेश प्रदेश मिडिया काउन्सिल’को अध्यक्षमा नियुक्त गरेकाे थियाे । अध्यक्षमा नियुक्ति भएको दुईदिनपछि वैशाख ९ गते अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियाे । मुद्दा दायरसँगै कमल उपाध्याय स्वतः पदमुक्त भएका थिए ।
विगतदेखि विवादित
कमल कुमार उपाध्याय ‘केएस मल्टिपर्पोज प्रा. लि.’ का अध्यक्ष हुन् । उनी बाराबाट प्रकाशित कृपा दैनिक पत्रिकाका सम्पादक पनि हुन् ।
‘केएस मल्टिपर्पोज प्रा. लि. प्रकाशन रहेकाे उनले यसैसंस्थाबाट विभिन्न काम गर्दै आएका छन् । पत्रकारिताको आवरणमा उनले विभिन्न पालिकासँग साना ठेक्कादेखि सामग्री आपूर्ति, सार्वजनिक सुनुवाइ, वृतचित्र निर्माणदेखी विभिन्न ठेक्कापट्टादेखी, रंगरोगन, कम्प्युटर सप्लाईजस्ता कामहरूमा अनियमितता गरि गर्दै आएका छन् ।
वीरगंजस्थित बाइपास सडक क्षेत्रमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका कमल कुमार उपाध्याय प्रहरीको धरपकडले आजित बनेर पत्रिका सञ्चालन गर्न पुगेकाे एक स्थानिय बताउँछन् । पत्रिका सञ्चालन गरेर पत्रकारको आवरण बनाएका उनले विभिन्न पालिकाका प्रमुखहरूसँग मिलेर योजनाहरू हात पार्दै आएका छन् । २०५६ सालबाट शुभलक्ष्मी प्रेस मार्फत कृपा नामक पत्रिका बारा जिल्लामा दर्ता गराएका उपाध्यायले २०५८ सालबाट औपचारिक रुपमा कृपा साप्ताहिक संचालनमा ल्याएका थिए ।
जिल्ला प्रशासन कार्यालय बारामा दर्ता भएको कृपा २०६० साल यता निरन्तर साप्ताहिक हुदै दैनिक पत्रिकाको रुपमा संचालित छ । वीरगंजमा उनकाे घर भएपनी बाराबाट उनले पत्रिका सञ्चालनमा ल्याएका थिए । यसकै आवरणमा ठेक्का पट्टा र विभिन्न याेजना, कार्यक्रमबाट विभित्र ठाउँमा जग्गा र गाडि जाेडेकाे उनका सहकर्मीहरू बताउँछन् ।