महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–७, बनौलीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ३० वर्षीय मुरारी झा रहेका छन् । गाउँ नजिकै रहेको दुर्गा मन्दिर छेउको सार्वजनिक पोखरीमा बुधवार साँझ उनी डुबेका थिए ।
स्थानीय सुमन झाका अनुसार उनी साँझ पोखरीमा डुबेका थिए भने घटनाबारे खबर पाएपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी कार्य थालेको थियो । खोजतलासपछि झाको शव पोखरीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।