राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
शैक्षिक क्यालेन्डरअनुसार नतिजा साउन १५ गतेभित्र प्रकाशित भइसक्नुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा ढिला सुरु भएकाले करिब १० दिन ढिलो हुने भएको हो ।
बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक कामहरू तीव्र गतिमा भइरहेको छ । उनले भने, ‘परीक्षा ढिला भएकाले नतिजा पनि ढिला भएको हो । हामी साउन २५ गतेभित्र नतिजा सार्वजनिक गर्ने तयारीमा छौं ।’
गत चैत २० गतेदेखि २९ दिनसम्म चलेको शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेका लागि तय गरिएको परीक्षा स्थगन भई वैशाख २१ गतेदेखि सुरु गरिएको थियो। विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले आन्दोलन गरेको थियो ।
यस वर्षको परीक्षामा देशभरबाट ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।