वीरगंज महानगरपालिकाले भेडाहा खोला आसपासमा पानी सञ्चय केन्द्र निर्माण गरी पिउने पानीको अभाव झेलिरहेका वडाहरूमा आपूर्ति गर्ने उद्देश्यले अध्ययन सुरु गरेको छ ।
महानगर प्रमुख राजेशमान सिंहको नेतृत्वमा गएको टोलीले बिहीबार बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगंजस्थित पानी सञ्चय केन्द्रको अवलोकन गरेको हो । अमलेखगंजमा चार दशकअघि बनाइएको पानी टङ्की अहिले पनि सञ्चालनमा रहेको छ ।
तत्कालीन सरकारले ८ लाख लिटरको पानी भण्डारण गर्ने टङ्की निर्माण गरेर करिब ७ किलोमिटर टाढासम्म पानी पुर्याएको थियो। २०६५ सालमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा थप २४ लाख लिटर क्षमताको टङ्की निर्माण गरिएको थियो ।
कर्मकुमारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष नारायण लामिछाने मगरका अनुसार, चार नं. पुलमा २४ मिटर लामो, २ मिटर चौडा र २.५ मिटर गहिरो सञ्चय केन्द्र (पैनी) निर्माण गरिएको छ । त्यहाँबाट पाइपलाइनमार्फत अमलेखगंजसम्म पानी आपूर्ति गरिएको हो। उनले अमलेखगंजको यो खानेपानी योजना देशकै दोस्रो सबैभन्दा पुरानो आयोजना भएको दाबी गरे ।
महानगर प्रमुख सिंहले वीरगंजको भेडाहा खोलामा पनि सोही ढाँचाको पानी भण्डारण गरेर समस्याग्रस्त वडाहरूमा पिउने पानी पुर्याउन सकिने बताए। उनले भने, "यसमा केही खर्च बढी पर्न सक्छ, तर दीर्घकालीन समाधानको लागि अध्ययन थालिएको छ ।"
उनका अनुसार विज्ञको सुझावअनुसार तीन तहका सरकार र चुरे तराई–मधेस संरक्षण विकास समितिको सहयोगमा पानी सञ्चय केन्द्र तथा पोखरी निर्माण गरेर भूमिगत जलस्तर वृद्धि गरिनेछ। यसले चापाकलबाट पानी आउने अवस्था सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
संरक्षण विकास समितिका प्रतिनिधि डा. अनिल सिन्हाले वीरगंजमा अमलेखगंजको मोडल अवलम्बन गर्दा फलदायी हुने बताए। नगरप्रमुख सिंहको टोलीले बिहीबार पर्सा जिल्लाको भेडाहा खोलाको पनि स्थलगत निरीक्षण गरेको थियो ।
भिडियाे सामाग्री