जनकपुरधाम | मिथिलाञ्चल क्षेत्रमा साउन महिनाभरि मनाइने झुलनोत्सव (झुला उत्सव) यस वर्ष पनि उल्लासपूर्वक सुरु भएको छ । जानकी मन्दिरबाट औपचारिक रूपमा सुरु गरिएको यस पर्व साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म एक महिनासम्म चल्ने परम्परा छ ।
मैथिली भाषामा 'झुला' भन्नाले पिङमा कसैलाई अगाडि–पछाडि झुलाउनु भन्ने अर्थ लाग्दछ । प्राचीन परम्परा अनुसार, यो कार्य स्नेह र ममता व्यक्त गर्न गरिन्छ, विशेष गरी साना बालबालिकालाई भुलाउन र रमाउन झुलाइन्छ। यही भावनालाई आधार बनाएर जनकपुरको जानकी मन्दिरमा जन्मिएकी सीता (जानकी) प्रति मातृभाव व्यक्त गर्न र उनका श्रीमान् रामप्रति ज्वाइँको रूपमा स्नेह प्रकट गर्न यो पर्व मनाइन्छ ।
सीतारामप्रति सामाजिक र पारिवारिक श्रद्धा
झुलनोत्सवको अवसरमा जानकीलाई छोरीझैं झुलामा राखेर झुलाइन्छ, जबकि रामलाई ज्वाइँका रूपमा आदर–सत्कार गरिन्छ । सीता–रामलाई साथीका रूपमा सम्झेर साथीभाइहरूले समेत झुला झुलाउने परम्परा छ। जनविश्वास अनुसार, झुलनले धार्मिक मात्र होइन, पारिवारिक सम्बन्धमा आत्मीयता र भावनात्मक एकता बलियो बनाउने विश्वास छ ।
यस वर्षको झुलनोत्सव अघिल्लो हप्ताको आइतबार साँझदेखि सुरु भएको जनकपुरधामका धार्मिक अगुवाहरूले जनाएका छन् । जनकपुर, महोत्तरी, सिरहा, सर्लाहीसहितको मिथिलाञ्चल क्षेत्रमा यो पर्व विशेष धुमधामका साथ मनाइन्छ ।