पर्सा | नेकपा माओवादी केन्द्रका नेता शिवकुमार साह तेली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर निवासी तेलीलाई वीरगंजको श्रीपुरबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार तेलीलाई क्रान्ति गुप्तासहितका दुई जना व्यक्तिले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको हो । पीडितहरूका अनुसार तेलीले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको अवस्थामा पनि १० लाख र ६ लाख रुपैयाँका गरी दुईवटा चेक प्रदान गरेका थिए ।
बैंकले चेक बाउन्स गरेपछि पीडितहरूले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखिएको छ। साथै, पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको डीएसपी लम्सालले जानकारी दिए ।