सिरहा । लहान नगरपालिका–४ स्थित बलान नदीमा आएको बाढीले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीमा तीव्र कटान सुरु गरेपछि स्थानीयवासी त्रासमा छन् । नदीको बहाव तीव्र भई बस्तीको नजिक पुग्दा करिब ७५ परिवार प्रत्यक्ष जोखिममा परेका छन् ।
वर्षाका कारण बाढी बढेपछि बलान नदीले तीव्र कटान सुरु गरेको हो। स्थानीयका अनुसार हाल नदी र बस्तीबीचको दूरी पाँच मिटर मात्र बाँकी रहेको छ । सुन्दरपुरका ४५ र इस्लामपुरका ३० परिवार बाढीको चपेटामा परेका छन् ।
स्थानीयवासी मेहम्मद हुसेन अन्सारीले बाढीको डरले रातभर सुत्न नसकेको बताए। "कतिबेला बाढी बस्तीमा पस्छ भन्ने चिन्ताले निदाउन दिएन," उनले भने । अर्का बासिन्दा मोहम्मद अफ्रोजले बालबच्चा लिएर रातभर नजिकैको मदरसामा जाग्राम बस्नुपरेको दुःख व्यक्त गरे ।
समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिका स्तरबाट प्रयास भए पनि बजेटको अभाव र ठेकेदारको लापरवाहीले योजना अधुरो भएको छ । वडा नं. ४ का वडाध्यक्ष रामनाथ पण्डितका अनुसार, कटान रोकथामका लागि २५ लाख रुपैयाँको योजना भए पनि ठेकेदारले काम बीचमै छाडेकाले मात्र १५ लाख बराबरको काम भएको छ ।
नगरप्रमुख महेशप्रसाद चौधरीले बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको बताए । दीर्घकालीन समाधानका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय भइरहेको जानकारी दिँदै उनले बलान नदीले बहाव परिवर्तन गरेमा नजिकैको पूर्व–पश्चिम राजमार्गको पुल र खेतीयोग्य जमिन पनि ठूलो जोखिममा पर्ने चेतावनी दिए ।