रौतहट | ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । खेतमा सिँचाइका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ५५ वर्षीय शेख जाफिरको उपचारका क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार राति साढे ९ बजे जाफिर खेतमा पानी लगाउने क्रममा करेन्ट प्रवाह भएको तारमा छोएपछि गम्भीर घाइते भएका थिए । घाइते अवस्थामा तत्काल गौरस्थित प्रादेशिक अस्पताल लगिए पनि राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी पाएपछि रामपुरखाप प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । घटनास्थल प्रहरी चौकीबाट करिब २ किलोमिटर दक्षिणमा रहेको जनाइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि गौर अस्पतालमै राखिएको छ। यस घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार, रौतहटमा गत आर्थिक वर्ष (२०८०/८१) मा मात्रै करेन्ट लागेर २३ जनाको मृत्यु भएको थियो ।