महोत्तरी | महोत्तरीको रामगोपालपुरमा ट्रकमा लुकाएर ल्याउँदै गरिएको ४ क्विन्टल ७० किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । बर्दिबास–जलेश्वर सडकखण्डअन्तर्गत रामगोपालपुर–५ स्थित रामगोपालपुर चोकमा ट्रकलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शैलेन्द्रकुमार भट्टका अनुसार ना ६ ख २९१९ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा पछाडि भागमा राखिएका १० वटा सेतो बोरा खोली हेर्दा गाँजा फेला परेको हो । उक्त गाँजा आइतबार साँझ बरामद गरिएको उनले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय रामगोपालपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त प्रहरी टोलीले सो गाँजासहित ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–४ निवासी २६ वर्षीय मानबहादुर मोक्तानलाई पक्राउ गरेको छ ।
पक्राउ परेका मोक्तानमाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।