वीरगञ्जबाट प्रकाशित साप्ताहिक पत्रिका मध्य नेपाल सन्देश ले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा तीन जना पत्रकारलाई सम्मानित गर्ने निर्णय गरेको छ ।
पत्रिकाको सञ्चालक समिति बुधबार बसेको बैठकले मधेसमा सक्रिय पत्रकार मोनिका झा, शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
सम्पादक कविता खड्काका अनुसार, उत्कृष्ट महिला पत्रकारिता पुरस्कार जनकपुरकी पत्रकार मोनिका झालाई प्रदान गरिनेछ । झा विगत लामो समयदेखि मधेसका सामाजिक र लैङ्गिक मुद्दाहरू उठाउँदै आएका छन् । हाल उनी अन्नपूर्ण पोस्ट दैनिकको मधेस ब्यूरो प्रमुखको रूपमा कार्यरत छिन् । उनलाई १५ हजार रुपैयाँ राशिको पुरस्कारले सम्मान गरिनेछ । झा यसअघि धनुषा पत्रकार महासंघको अध्यक्षसमेत भइसकेकी छन् ।
यसैगरी, मध्य नेपाल मा "खोजी जवाफदेहिताको" शीर्षकमा स्तम्भ लेख्दै आएका शिवनाथ प्रसाद यादव र गीता भण्डारीलाई पनि जनही ११ हजार १ सय रुपैयाँ राशिको पुरस्कार दिइनेछ । यादव सामाजिक बेथितिको विरुद्ध र भण्डारी सामाजिक विषयमा विगत १० वर्षदेखि निरन्तर कलम चलाउँदै आएका छन् ।
यी तीनै पत्रकारलाई आगामी भदौ १२ गते हुने विशेष समारोहमा औपचारिक रूपमा सम्मान गरिने कार्यक्रम रहेको छ ।
यसअघि यो पुरस्कार कान्तिपुर की संवाददाता सुनिता बराल, रातोपाटी की बारा संवाददाता शारदा पोखरेल र रेडियो वीरगञ्ज की पत्रकार तथा नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेललाई प्रदान गरिएको थियो ।